इराताेखरी।बिरामीलाई उपचार तथा परामर्श दिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलमा पहिलो पटक ‘टेलिमेडिसिन’ सेवा सुरु गरिएको छ।
एक जना चिकित्सकसहित अन्य तीन जना स्वास्थ्यकर्मीको टोलीबाट ‘टेलिमेडिसिन’ सेवा सुरु गरिएको प्रदेश प्रहरी अस्पताल दिपायलले जनाएको छ।
तोकिएका चिकित्सकले टेलिफोन, इमेल र एसएमएसलगायत अन्य सुविधा प्रयोग गरी विभिन्न रोगका बिरामीको उपचार गर्न तथा अन्य स्वास्थ्यकर्मीलाई सुझाव सल्लाह दिन सकिने भएकाले उक्त सेवा सुरु गरेको प्रदेश प्रहरी अस्पताल दिपायलका प्रमुख डा भीमबहादुर बुढाले बताए।
देशभरिका टेलिमेडिसिन सेवाको एप्स जोडिएका अस्पतालमा रहेका चिकित्सकसँग रोगका बारेमा जानकारी लिन सकिने तथा आफ्नो अस्पतालमा भएका बिरामीको बारेमा जानकारी दिएर उपचार गर्न सकिने भएकाले यो सेवा निकै प्रभावकारी हुने देखिएको अस्पतालका स्वास्थ्यकर्मी तथा प्राविधिक प्रहरी नायब निरीक्षक खडकबहादुर भुत्यालले जानकारी दिए।