-अर्जुन डाेटेल

मलाई कोरोना संक्रमण भएको छ । विगत केही दिनदेखि कोरोना संक्रमणको लडाइँमा जित्ने प्रयास गरिरहेको छु । विश्वभर करोडौं मानिसहरुलाई कोरोना संक्रमण भइसकेको छ । नेपालमै पनि ९० हजारभन्दा बढीलाई संक्रमण भइसकेको छ र ६७ हजार त निको पनि भइसकेका छन् । कोरोना संक्रमण हुँदा शुरुमा जुन लक्ष्यण देखिएको थियो त्यो हिसाबमा म अहिले निको हुँने क्रममा रहेको अनुभव भएको छ ।

मैले कसरी बुझेँ कोरोना ?
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि महामारीकै रुपमा फैलिरहेको छ । नेपालमा संक्रमण शुरु हुँदा मानिसहरुको बुझाई राम्रो थिएन । महामारीकै रुपमा फैलिएपनि भयावहको रुप भने धारण गरिसकेको छैन तर अहिले जुन तरिकाले यसको रोकथामका प्रयास भइरहेको त्यो हिसाबले नै अघि बढ्ने हो भने निकट भविष्यमै यसले भयावह महामारीको रुप लिने देखिन्छ ।

नेपाल सरकार र जनस्तरबाट जसरी सजगता अपनाउनु पर्ने थियो त्यो तरिकाबाट सचेत भएको देखिदैन । सबै कुराले सम्पन्न शक्ति देशहरुलाई अल्मल्याइरहेको कोरोना संक्रमणले नेपाल जस्तो गरिब देशमा झन् ठूलो समस्या निम्त्याउने निश्चित नै देखिन्छ । समय अझै छ सचेत बनाैं, सरकारले जारी गरेका निर्देशन पालना गराैं ।

नेपालमा कोरोना संक्रमित देखिनेवित्तिकै लकडाउन गरिएको थियो तर सर्वसाधारणले सचेत र सजगता अपनाउने काममा हेलचेक्र्याइँ गरिदिँदा अहिलेको समस्या निम्तिएको हो भन्ने कुरामा  दुईमत छैन । सरकारले त संवेदनशील विषयमा सर्वसाधारणमा अपिल गरेर सचेत बन्न आग्रह गर्ने हो र संक्रमित भेटिएपछि उचित रुपमा उपचारको व्यवस्था गर्ने हो । तर सर्वसाधारणले सचेत नभइदिँदा यसले महामारीको रुप धारण गरेको सबै देशको अवस्था हेर्दा बुझ्न सकिन्छ ।

अहिले जुन अवस्था देखिएको छ यसमा सबै दाेष सरकारको हो भने हामी सर्वसाधारण पन्छिन सकिने अवस्था पटक्कै छैन । सरकारले त सुरक्षा निकायदेखि स्वास्थ्यकर्मी परिचालन गरेर रोकथामका उपायहरु अपनाइरहेको छ तर हामीबाट नै कमजोरी देखिएकाले महामारीले यस्तो रुप धारण गरिरहेको छ । सरकारले बारम्बार घुमफिर नगरौं, सचेत भएर बसौं भन्दाभन्दै गाउँ शहर चाहार्दै हिड्ने हामीहरु नै हौं र अहिलेको स्थिति निम्त्याउने पनि हामीहरु नै हौं ।

जब काठमाडौंमा समस्या पर्छ लावालस्करसहित गाउँ जाने र काठमाडौंमा शान्ति भएपछि गाउँ रित्याएर लावालस्करसहित फर्कने प्रवृत्तिले गर्दा कोरोना संक्रमण उच्च गतिमा फैलिएको हो भन्नेमा कुनै शंका छैन । रोग जहाँ पनि पुग्न सक्छ । गाउँ र शहर भन्दैन यसले । गाउँ र शहर चाहार्दै नहिडेको भए अहिलेको जस्तो अवस्था पक्कै पनि आउँने थिएन हाेला।

सरकारले कोरोना रोकथाप र नियन्त्रणका लागि हदैसम्मको काम गरिरहेको छ । यसमा शंका छैन तर हाम्रै कारण महामारीले सबै चरण पार गर्दै समुदायमा प्रवेश गरेको छ, अन्तिम चरणमा पुगेको छ । अब यसबाट बच्नका लागि सामाजिक दूरी कायम गर्ने, मास्क र स्यानिटाइजर प्रगोग गर्ने तथा साबुन पानीले हात धुनुको विकल्प छैन । किनकी यसको उपचारका लागि उपयुक्त औषधि अहिलेसम्म पत्ता लागेको छैन । आफ्नो जीवन जोगाउनका लागि आफैले सजगता अपनाउनु पर्छ ।

कोरोना संक्रमितलाई हेर्ने हाम्रो समाजको नजर सही छैन । यो भाइरसबाट ग्रसित मान्छेलाई समाजले घृणित नजरले हेरेको पाइन्छ जुन शत प्रतिशत गलत हो । यो संक्रमण जसलाई पनि हुनसक्छ । भाइरस के हो र यो कसरी सर्छ भन्ने कुरा सबैले बुझ्नु जरुरी छ । सद्भाव कायम गर्नु जरुरी छ । यो भाइरस सजिलै सर्न सक्छ तर सामान्य सावधानी अपनाइँदा सर्न पाउँदैन । संक्रमितसँग सामाजिक दूरी कायम गरेर बोल्दा यो सर्न पाउँदैन । संक्रमितसँग नजिकै बसेर बोल्नु हुँदैन । संक्रमितलाई सद्भाव र आत्मबल बलियो हुने गरी बोल्नुपर्छ, यसो गर्दा संक्रमितलाई छिटो निको हुन सहयोग पुग्छ । संक्रमितलाई अस्वाभाविक नजरले हेर्ने र गलत बुझाइ कसैले गरेको छ भने त्यो तुरुन्तै हटाउनुपर्छ किनकी अबको संक्रमण हुने पालो तपाइँकै पनि हुनसक्छ ? यहाँ यसै हो भनेर भन्न सकिने अवस्था छैन । हुनेसम्म र सकेसम्म सजगता अपनाऔं, सचेत बनौं ।

यस्तो रह्यो मेरो अनुभव

आजभन्दा दश दिन अगाडिसम्म पनि कोरोना भाइरसलाई सामान्य ठानेर म दैनिक काममा सामान्य ढंगले हिडडुल गर्ने गरेको थिएँ । तरपनि मास्क लगाउने र स्यानिटाइजर प्रयोग गर्ने काममा भने मैले शुरुदेखि सजगता अपनाउने काम भने गरिरहेको थिएँ । यसै शिलशीलामा म राजधानी बाहिर पनि पुगेँ कामकै शिलशीलामा । तर सजगता भने अपनाइरहेको थिएँ । कतै कोहीसँग कुरा गरिसकेपछि वा केही सामान छोएपछि म स्यानिटाइजरको प्रगोग गरिहाल्थेँ । मास्क प्रयाेग गरिरहेकै थिएँ ।

दश दिनअघि मलाई अकस्मात ज्वरो आयो । राति एक ट्याब्लेट निम्स खाएर सुतेँ । भोलिपल्ट उठ्दा ज्वरो थिएन । आफ्नो दैनिक काममा हिड्ने निधो गरेँ । सामान्य तरिकाले दैनिक जस्तै खाना खाएर काममा हिँडे । दिउँसो पुनः ज्वरो आयो । म गाडीमै सुतेँ केहीबेर । केहीक्षणमै म गाडीमा निदाएछु । ज्वरोले निकै गलाएछ । उठ्न मुश्किल भयो । कमजोरीले निकै सतायो । करिब पाँच घण्टा गाडीमै सुतेँ । त्यसपछि उठ्दा मलाई ज्वरोले निकै गालेको थियो । शरीर आगोले पोलेको जस्तो भइरहेको थियो । कमजोरीले रिंगटा लागिरहेको थियो । गाडी चलाउन सक्ने अवस्थामा म थिइनँ । तैपनि विस्तारै चलाउन सकिन्छ कि भनेर चलाउन थालेँ तर नसक्ने अवस्था भयाे ।

गाडी राेकेँ, नजिकैको पसलमा गएँ । एक बोतल पानी र बिस्कुट लिएर खाएँ । एक चक्की निम्स पनि खाएँ । केही समयपछि केही हल्का महसुस भयो । केही हिम्मत लिएर विस्तारै गाडी हाँकेर घरतिर लागेँ । बीच बाटोमा पुगेपछि सोचेँ कि एकपटक मेडिकलमा देखाउनु उपयुक्त हुन्छ ।

गाडी रोकेर चेक गराउन गएँ । ज्वरो १०२ रहेछ । प्रेसर निकै कम देखियो । ८०–६० को लो प्रेसरका कारण कमजोरी र रिंगटा लागिरहेको थियो । डाक्टरले तुरुन्तै हिड्नु हुँदैन भन्नुभयो । जीवनजल र पानी पिएर आराम गर्न लागेँ । केही समयपछि थोरै आत्मबल बढेको महसुस भयो र बिस्तारै गाडी चलाएर घर पुगेँ । डाक्टरले लेखिदिुनुभएको अन्टिबायोटिक औषधि पनि साथै लिएर आएको थिएँ ।

त्यस रात मलाई धेरै नै ज्वरो आयो । कमजोरी धेरै भयो र थकाइ पनि ज्यादै नै भयो । दुई दिन औषधि खाएँ । पानी पनि निकै पिएको थिएँ । दुई दिनपछि मलाई ज्वरो हरायो । केही सञ्चो भएजस्तो महसुस पनि गरेँ ।

तीन दिनपछि म पुनः सामान्य दैनिक काममा फर्किएँ । सचेतनाका सबै उपए अपनाएर म काममा हिडडूल गर्न थालेँ । यो समयमा ज्वरो आएकाले केही साथीहरुले पीसीआर परीक्षण गर्न सल्लाह दिए तर मलाई ज्वरो ठिक भइसकेकाले पीसीआर परीक्षण गर्न मन लागिरहेको थिएन । साथीहरुकै करले मैले पीसीआर परीक्षणका लागि स्वाब दिएँ ।
ज्वरो ठिक भएपनि मलाई थकाइ उस्तै लागिरहेको थियो । जिब्रोमा स्वाद थिएन, तर ज्वरोका कारण पहिला पनि यस्तो हुने भएकाले मैले समान्य रुपमा लिएको थिएँ ।

कोरोना संक्रमण हुनबाट बच्न सावधानी अपनाइ पनि रहेकाले मलाई संक्रमण होइन भन्नेमा म ढुक्क थिएँ । तर जब पीसीआरको रिपोर्ट आायो म छाँगाबाट खसेजस्तै भएँ । मलाई पीसीआर पोजेटिभ देखियो । तर आत्मबल दरो बनाएर आफ्ना नजिकका साथीभाइ र केही दिनदेखि मसँग साथै रहेका सबैलाई फोन गरेर रिपोर्टका बारेमा भनेँ । सबैलाई आइसोलेशनमा बस्न र लक्षण देखिए पीसीआर परीक्षण गर्न सल्लाह दिएँ । चिकित्सकलाई फोन गरेँ, सल्लाह लिएँ र होम क्वारेन्टाइनमा बसेँ ।

अहिले मेरो अवस्था सामान्य हुँदै गएको छ । शुरुमा देखिएको लक्षण हराउँदै गएको छ । जिब्रोबाट हराएको स्वाद फर्किएको छ । थकान र कमजोरी अहिले छैन । खाना रुचेको छ । चिकित्सकको सल्लाह र आफ्नो दैनिकी खानपानका साथ म अहिले पनि कोरोनासँगको लडाइँमा रहेको छु, केही दिनमै यो लडाइँलाई अवश्य जित्नेछु ।

उच्च मनाेबलले नै यो समयमा ठूलो काम गर्दोरहेछ । तर आफूलाई परेपछि सबै थाहा हुन्छ भने जस्तै कोरोनाभाइरसलाई सानो चाहिँ सम्झिनु नहुँने रहेछ । कोरोना महामारीबाट बच्नका लागि सामाजिक दूरी, मास्कको प्रयोग, स्यानिटाइजर र साबुनपानीले समय समयमा हात धुनुबाहेक अर्को विकल्प नभएकाले म सबैमा यो नियम पालना गर्न विनम्र अनुरोध गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here