फाइल तस्बिर

काठमाडाैं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको ध्यान महामारी नियन्त्रण भन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्नेतर्फ केन्द्रित भएको बताउनुभएको छ ।

उहाँले अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधान भन्दा सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रित भएको  बताउनुभएकाे हाे ।

विभिन्न माग राख्दै अनसनमा रहेका विभिन्न सञ्चार माध्यमका पत्रकारहरुलाई भेट्दै भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैर जिम्मेवार भूमिका निर्वाह गरिरहेको बताउनुभयो । जनता समाजवादी पार्टीका नेतासमेत रहनु भएको पूर्व प्रधानमन्त्री भट्टराईले पार्टी र सर्वोच्च अदालतले समेत आफ्नो समय चुनाव हारेका व्यक्तिको व्यवस्थापन कसरी गर्ने भन्नेमा केन्द्रित रहेको बताउनुभयो । महामारीका कारण भोकै मरिरहेका जनतातिर सरकारले ध्यान दिन नसकेको उहाँले बताउनुभयो । उहाँले सरकारको यस्तो रवैयाले राज्य प्रणाली विघटन हुने र प्रतिगमनको लहर आउने खतरा समेत रहेको बताउनुभयो ।

विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार कर्मचारीहरु कोभिडको बाहाना देखाउँदै जागिरबाट निकालेको, राज्यले तोकेको सेवा सुविधा नदिएको भन्दै तीन दिनदेखि रिले अनसनमा रहेका छन । उनीहरुसँगको भेटमा डा. भट्टराईले कोभिडको महामारीका बेला सरकारले गर्नुपर्ने काममा सचेत गराउन श्रमजीवि पत्रकाहरुले ठूलो भूमिका खेलिरहेको बताउनुभयो । सरकारलाई सचेत गराउन श्रमजीवि पत्रकारहरूले गरेको जस्तो मिहेनत राजनीतिक दलहरुले गर्न नसकेकोमा आफू लज्जित रहेको समेत भट्टराईले बताउनुभयो ।

कोभिडलाई बाहाना देखाउँदै जवरजस्ती निकालिएका कर्मचारीलाई निशर्त पूनर्वाहली गर्नुपर्ने, तोकिएको पारिश्रमिक दिनुपर्ने, जवरजस्ती राजीनामा दिन बाध्य पारिएको, बदनियतपूर्ण सरुवा गर्ने निर्णयहरु खारेज गर्नुपर्ने माग राख्दै विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु आन्दोलित भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here