काठमाडौं । अबदेखि निजी ल्याबमा कोरोना परीक्षण गरेर रिपोर्ट पोजेटिभ देखिएमा पनि बीमा रकम भुक्तानी पाइने भएको छ । बीमा समितिले कोरोना बीमा मापदण्ड–२०७७ तथा कोरोना बीमालेखमा संशोधन गर्दै नयाँ निर्णय लिएको हो ।

यसअघि निजी ल्याबमा कोरोना परीक्षण गरी पोजेटिभ देखिएमा बिमा रकम भुक्तानी नगर्न भनिएको थियो । चर्को दबाबपछि समितिले फेरि भुक्तानी दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो । नयाँ व्यवस्थाअनुसार प्रयोगशालामा काम गर्ने कर्मचारीहरुले भने आफू कार्यरत बाहेकका प्रयोगशालामा परीक्षण गराएको रिपोर्ट बुझाएमात्र बीमा रकम भुक्तानी पाउने छन् ।

समितिले बीमा रकम दाबी गर्न निजी र सरकारी प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नुपर्ने जनाएको छ । बीमा कम्पनीहरुलाई संक्रमितले पेश गरेको रिपोर्टमा शंका लागेमा भने आफ्नै खर्चमा पुनः अर्को ल्याबमा कोरोना परीक्षण गराउन सकिने व्यवस्था समेत गरिएको छ ।

यस्तै बीमा दाबी भुक्तानीमा द्धिविधा देखिएमा समस्या समाधानका लागि बीमा समितिका निर्देशकको संयोजकत्वमा ४ सदस्यीय कोरोना बीमा दाबी व्यवस्थापन उपसमिति गठन गर्ने निर्णय पनि गरिएको छ । कोरोना बीमाको सबै प्रक्रिया पूरा गरेपछि ७ दिनभित्र दाबी भुक्तानी गर्न समेत समितिले निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here