काठमाडौं । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले प्रधानमन्त्री केपी ओलीको संरक्षणमा भ्रष्टाचार मौलाएको आरोप लगाएको छ । खुद्रे मुद्दाहरु बोकेर अख्तियारले भ्रष्टाचार नियन्त्रणको डंका पिटेपनि प्रधानमन्त्रीको संरक्षणमा ठूला भ्रष्टाचारका काण्डहरु घटेको ट्रान्सपरेन्सीको दावी छ ।

सरकारकै संरक्षणमा नेपालमा भ्रष्टाचार मौलाएको ट्रान्सपरेन्सी ईन्टरनेशनलले जनाएको छ । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राखेपछि ट्रान्सपरेन्सी ईन्टरनेशनलले यस्तो आरोप लगाएको हो । ट्रान्सपरेन्सी ईन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मी प्रधानमन्त्रीको ओठे प्रतिवद्धता र व्यवहारका कारण भ्रष्टाचारीहरु संरक्षित भएको बताउछन १ बालुवाटार जग्गा प्रकरण, सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी प्रकरणमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नै सरकारको संरक्षणमा भ्रष्टाचार मौलाएको पुष्टि हुने उनको भनाई छ ।

ट्रान्सपरेन्सीले अख्तियार प्रमुख समेत सरकारको नीति निर्देशन अनुसार काम कारिन्दाका रुपमा परिचित हुँदै गएको समेत जनाएको छ । अख्तियारका पछिल्ला कदमहरुले अख्तियारको औचित्य छ की छैन भनेर शंका उब्जाएको उसको भनाइ छ । ठूला भ्रष्टाचारका मुद्दाहरु ‘तामेली’ मा राख्दै जाने प्रवृतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको औचित्य समाप्त हुने ट्रान्सपरेन्सीको भनाई छ ।

राजनैतिक नेतृत्व तहको संलग्नता र नीतिगत निर्णयका नाममा हुने ठूला भ्रष्टाचारका मुद्दामा केन्द्रित रहेर भ्रष्टाचारीहरुमाथि निर्मम कारवाहीको प्रकृया अगाडी बढाउनुपर्ने ट्रान्सपरेन्सीको भनाइ छ १ आयल निगमको जग्गा खरिद प्रकरण, वाईडबडी जहाज खरिद प्रकरण, न्यारोबडी जहाज खरिद प्रकरण, नेपाल ट्रष्टको जग्गाहरु यति कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेस खरिद सम्बन्धमा तत्कालिन मन्त्रीको अडियो प्रकरण र स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको व्यापक अनियमितता सम्बन्धी प्रकरणका मुद्दाहरुमा अविलम्ब अनुसन्धान प्रकृया सम्पन्न गरी दोषिहरु कारवाही गर्नुको सट्टा फाइल तामेलीमा राखेर बन्द राखेकोमा ट्रान्सपरेन्सीले आपत्ति जनाएकोछ ।

दोषिहरु उपर कडा सजायको मागदावी गरी मुद्दा दायर गर्नुपर्नेमा उल्टै माहामारीको मौका छोपेर गुपचुपमा अर्बौ रुपैयाँ भन्दा बढि रकम हिनामिना गर्ने गराउने व्यक्तिहरुलाई उन्मुक्ति दिनेगरी मुद्दाको फाइल गरिएको प्रति ट्रन्सपरेन्सी इन्टरनेशनलले ध्यानकर्षण समेत गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here