आँखाले आँखा काट्छ
अक्कासिँदो पहाडमा
म सिथिल छु
आज ।
हिमालको आँखी झ्याल
सितभएर झर्छ ,काखमा
म,
निरन्तर छु यात्रामा
आँखा गल्छन्
आँखैको सारंगी रेटेर
कहिले बल्छन् ,खँलातीका कोइला जस्तै
पाइलाका कथाहरुझैँ
नागरिक भीडहरु
उन्मुक्त उफ्रिएकाछन्
जुद्धसडकमा ।
हरिहरजंगको आँगनबाट
उप्किएका इँटहरु
माइलो अम्लो उठाइरहेछन्
वैदिक कथा जस्तै छ
पीपल बोट
आँखाले आँखा काटिरहेछ
मादलको आवाज शून्य छ
सडकको मध्यभागमा
धकेल्दै धकेल्दै आँखाहरु
पोकलीभएर बग्छन्
मन
पौँठा कसेर चुर्लुम पार्छन्
जुरमुराएका परेलाहरु
अग्ला अग्ला सपना देख्छन्
भेलहरु
आकाशै ढाकेर उडेका
श्यामका पखेटाहरु
झुण्ड झुण्ड भएर
बज्रिएका छन्
विचारका खेतहरु
आँखाले आँखामा रेती लगाउँछ
सपनाका फूलहरु झार्न ।

-वैरागी जेठा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here