काठमाडौं । शनिबार बिहान ११ : ४५ वजे कीर्तिपुर अस्पताल पुग्दा २२ वर्षीया पवित्रा कार्की क्याबिनको बेड नम्बर ३ मा थलिएकी थिइन् । लाऊँ लाऊँ र खाऊँ खाऊँ भन्ने उमेरमा उनका लागि एसिड दुस्मन बन्यो । क्याबिनमा रहेकी उनले टाउको हल्लाउँदै भनिन्, ‘ठिकै छ, सन्चो त होला नि रु’ उनलाई दुखाइ कम गर्ने औषधि खुवाइएको थियो । उनको घाँटी, दाइने हात र दाइने गालामा एसिडको असर परेको थियो । आँखामाथि एसिडको असर प्रष्टै देखिन्छ । अस्पताल प्रशासनअनुसार उनलाई बर्न वार्डबाट क्याबिनमा सारिएको हो ।

‘यस्तै छु म बुझ्नै गाह्रो, जसले बुझ्छ उसकै प्यारो,’ पवित्राले सामाजिक सञ्जालको प्रोफाइलमा लेखेकी छन् । अस्पतालको क्याबिनमा पुग्दै गर्दा भर्खरै पवित्राको ड्रेसिङ गरिएको थियो । आमा, दिदी र भिनाजु पवित्राको अनुहार हेरेर न्यायको खोजी गरिरहेका थिए । पवित्राकी आमा सीता कार्कीले भनिन्, ‘जसले एसिड छर्यो, उसले मेरी छोरीको जिन्दगी बर्बाद पारिदियो ।’

उनले दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने र जेल सजाय हुनुपर्ने बताइन् । उनले भनिन्, ‘धेरै नाजुक छ छोरीको अवस्था । त्यसलाई एसिड छरेपछि पोल्छ कि पोल्दैन, भन्नुस् त । नानीलाई पोलेको जसरी एसिड छर्नेलाई दुख्छ कि दुख्दैन ।’ समाचारपत्र दैनिकमा छापिएकाे समाचार अनुसार गत बिहीबार बेलुकी सीतापाइलामा दही र चिउरा लिएर पवित्रा आफ्नो कोठामा फर्किंदै थिइन् । कोठामा फर्किंदै गर्दा उनको भेट पहिले सँगै डल्लुस्थित गार्मेन्टमा काम गरेका साहु मोहम्मद आलामसँग पनि भएको थियो । आलमलाई उनले दाइ भनेर बोलाउने गर्थिन् । उनले बीच बाटोसम्म पवित्रालाई मोटरसाइकल ल्याएर छोडेका थिए । लगत्तै उनी हिँड्दै आफ्नो कोठातर्फ फर्किंदै थिइन् । कोठामा फर्किंदै गर्दा पछाडि फर्केर भोड्काको बोतलमा एसिड राखेर प्रहार भएको आफन्त भट्टराईले बताए ।

लगत्तै मानिसहरू जम्मा भएका थिए । आलमले पवित्रालाई पछ्याउँदै आएका थिए । अभिभावकहरूले पवित्राको पालनपोषण पीडकले गर्नुपर्ने माग गरेका छन् । मुलुकी फौजदारी संहिताको दफा १९३ मा तेजाब वा अन्य रासायनिक, जैविक वा विसालु पदार्थ प्रयोग गरी कुरूप पार्न नपाइने उल्लेख छ । कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिमाना र शरीरका अन्य अंग कुरूप पारेमा वा शरीरमा पीडा पुर्याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना हुने संहितामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here