कोरोना संक्रमण सम्बन्धी समाचार संकलनका लागि यो स्तम्भकार प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित बालकोट घर आसपास पुुग्दा त्यस क्षेत्रमा समेत सार्वजनिक सडकमा केही युवाहरु बाँसको तगारो लगाएर सडक अवरुद्ध पार्दै थिए । 

कोरोना भाइरस कोभिड–१९ बाट विश्व आक्रान्त छ । नेपाल पनि कोरोनबाट अछुतो छैन । यो आलेख तयार पर्दासम्म नेपालमा सिन्धुपाल्चोककी एक सुत्केरी महिला र बाँकेमा क्यारेन्टाइनमा बसेका एक युवा गरी जम्मा दुुईजना कोरोना संक्रमणबाट निधन भइसकेका छन् । कोरोना संक्रमितको संख्या दिनानुदिन वृद्धि भइरहेको छ । अहिले कोरोना संक्रमितको संख्या तीन सय नाघिसकेको छ । सरकारले बन्दाबन्दीलाई थप कडाई गरेको छ । गत चैतको दोस्रो सातादेखि शुरु भएको लकडाउनको अवधि पटकपटक गर्दै जेठ १५ गतेसम्मका लागि थप गरिएको छ

कोरोना संक्रमण फैलिन नदिन यतिबेला देश जागा छ । गाउँ, टोल, बस्ती र शहर पूरै सजग छ । सडकमा सशस्त्र प्रहरी, जनपद प्रहरी र केही स्थानमा सरकारले नेपाली सेनासमेत परिचालन गरेको छ । केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहबाट सरकार कोरोना विरुद्धको युद्धमा होमिएका छन् । कोरोना फैलिन नदिन भन्दै सरकारले कोरोना संक्रमित व्यक्ति फेला परेका र उनीहरु हिडडुल गरेका स्थानहरु ‘सिल’ समेत गरेको छ ।

तर केही कथित बुज्रुकहरुले सार्वजनिक, सडक, गल्ली, पूललगायतमा काँढेतार लगाएर, ढाट हालेर, तगारो लगाएर र रुख ढालेर अवरुद्ध पारिरहेका छन् । केही स्थानीय र ‘टोले डन’हरुले कानून हातमा लिएर आतंक फैलाउन थालेका छन् । त्यस्ता समूहको पहिचान गरी उनीहरुलाई नियन्त्रणमा लिनुको सट्टा उल्टै प्रहरी मुकदर्शक बनिरहेको देखिन्छ ।

कोरोना फैलिन नदिन भन्दै सबैतिरबाट भइरहेका पहलहरु राम्रा र स्वागतयोग्य हुँदा हुँदै पनि ‘हलुवामा बालुवा’ मिसाउन उद्दत केही उदण्ड व्यक्तिहरु आफै जान्नेसुन्ने हुनु कदापी ठिक होइन । सरकारले गरिरहेकाे कदममा यस्ता टोले युवाहरुको हर्कतले गर्दा नै सरकार बदनाम हुने त होइन ? यसतर्फ सरकार र विशेषगरी गृहप्रशासन सजग र सचेत हुँनैपर्छ ।

गत शुक्रबार बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले काठमाडौं आउने क्रममा नागढुंगामा दुर्व्यवहार भोगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘टोले गुण्डा’ हरुले उनको गाडी रोकेर बेइज्यतिपूर्ण तरिकाले खानतलासी गरिरहेको भिडियोमा देखिन्छ । त्याे घटनामा प्रहरीले चन्द्रागिरिका उत्तम कार्कीलाई पक्राउ समेत गरेको छ । डा. नारायण कार्कीले ती युवा विरुद्ध प्रहरीमा किटानीजाहेरी समेत दिएका छन् ।

आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै कोरोनाको परीक्षणमा सरकारले फिल्डमा खटाएका एकजना अधिकारीमाथि राजमार्गमै यस्तो अपमान र दुर्व्यवहार हुँदा पनि सरकारले नै फिल्डमा खटाएका प्रहरी अधिकारीहरु ती युवाको हर्कत हेरर बसिरहनुमा प्रहरी र टोले गुण्डाहरुको ‘सेटिङ’मा कोरोनाको कहरबीच कतै नागरिक अधिकार कुण्ठित पार्ने कार्य त भइरहेको छैन ? यो गम्भीर प्रश्न हो ।

स्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले त्याे घटनामा उत्तम कार्की भन्दा पनि प्रहरी अधिकारीको गल्ती भएको भन्दै सञ्चारमाध्यममा अभिव्यक्ति दिएका छन् । यो घटनाको निष्पक्ष रुपमा छानिविन हुन जरुरी छ र त्यस्ता गैरजिम्मेवार प्रहरी अधिकारीलाई पनि छानविनको दायरामा ल्याउनुपर्छ ।

नागढुंगा घटना त एउटा उदाहरण मात्रै हो । केही समयअघि गोरखा, धादिङ, बाग्लुुङ लगायतका जिल्लाहरुका झोलुङ्गे पुलमासमेत काँडेतार लगाउने हर्कत भएका समाचारहरु विभिन्न सञ्चारमाध्यममा आएका थिए । त्यसैगरी काठमाडौंको अनामनगर, न्यूरोड, कीर्तिपुर, गोंगबु, ठमेल, चावहिल, भक्तपुरको बालकोटका केही भित्री सडक र ललितपुरका केही स्थानहरुमा टोले डनहरुले सार्वजनिक सडकमा तगारो लगाएर सडक अवरुद्ध पारेका दृयष्यहरु पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले छ्यापछ्याप्ती ‘पोष्ट’ गरेको देखिन्छ ।

कोरोना संक्रमण नियन्त्रणका निहुँमा यसरी सार्वजनिक सडक, गल्ली, पुल आदि अवरुद्ध पार्नु गैर कानूनी र अमानवीय कार्य भएको कानुनविद् तथा अधिकारकर्मीहरु बताउँछन् ।

कोरोना संक्रमण सम्बन्धी समाचार संकलनका लागि यो स्तम्भकार प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित बालकोट घर आसपास पुुग्दा त्यस क्षेत्रमा समेत सार्वजनिक सडकमा केही युवाहरु बाँसको तगारो लगाएर सडक अवरुद्ध पार्दै थिए । त्यस स्थान भन्दा करिव पाँच सय मिटरको दुरीमा रहेको चौकीका प्रहरी भने देखेर पनि नदेखेको झैँ गरिरहेका थिए ।

त्यसैगरी महोत्तरीको खयरमारामा पनि स्थानीय युवाहरुले सडकमा ढाट राखेर सवारी साधन आवतजावतमा अवरुद्ध पारिरहेका छन् । त्यहाँका केही युवाहरुले प्रहरीसँगको मिलेमत्तोमा रात्री गस्तीसमेत थालेका छन् ।

यसरी सडक नै अवरुद्ध पारेर स्थानीय युवाहरुले कानूनको धज्जी उडाउँदै मानवता विरोधी कार्यहरु गरिरहेका छन् । सडक नै अवरुद्ध पार्दा अत्यावश्यक सवारी साधान, एम्बुलेन्स, प्रेस, खाद्य पदार्थको गाडी, औषधिको गाडी, सुरक्षाकर्मीको गाडी आदिलाई अवरोध हुन्छ र अन्ततः  त्यसको गलत नतिजा हामी आफैले भोग्नुपर्छ ।

त्यसैले कोरोनाको रोकथाम सडक अवरुद्ध पारेर होइन, हामी आफैले अनुशासित भई लकडाउनको पालना गरे मात्र सम्भव हुन्छ । सडक सबैको साझा सम्पत्ति हो । यसमा कुनै पनि स्थानीय तह र स्थानीय टोल, क्लव र टोले समूहरुहरुको नियन्त्रणमा हुनुहुँदैन । यसरी सडक अवरुद्ध पार्नेहरुको पहिचान गरी त्यस्ता बुज्रुकहरुलाई कानूनको कठघरमा उभ्याउने पो हो कि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here